हिस्टुनको अध्यक्षमा सुवेदी, २० बुद्धे माग पूरागर्न ध्यानाकर्षण


कृष्ण के.सी. बेसीशहर पौष २६ गते ।
माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) जिल्ला कार्य समिति लमजुङको अध्यक्षमा अमृत सुवेदी सर्वसम्वत चयन हुनु भएको छ ।
युनियनको विहिबार बेसीशहरमा भएको भेलाबाट वालकल्याण मावि भुकण्डेमा कार्यरत शिक्षक अमृत सुवेदी अध्यक्षमा चयन हुनु भएको हो ।
१५ सदस्यसीय युनियनको उपाध्यक्षमा कुशुमाकर माविका शिक्षक वासुवावु पाण्डे, सचिवमा भक्ति नमुना मावि भोटेवडारका किरण न्यौपाने, सह–सचिवमा वुद्धोदय मावि गिलुङका रुद्रमान गुरुङ र कोषाध्यक्षमा जनविकास मावि चण्डिडाँडाका श्रीकृष्ण घिमिरे चयन हुनु भएको छ ।
त्यसैगरी युनियनको सदस्यमा दामोदर सरण लामिछाने, चन्द्रकला अधिकारी, हरि राउत, उदय चन्द्र कंडेल, सुनिता देवकोटा, अर्जुनबहादुर सुयँल, प्रदिप अधिकारी, रमेश सोती , नविन अधिकारी र सुवास चिलुवाल चयन हुनु् भएको छ ।
कार्यक्रममा हिस्टुनका केन्द्रीय सदस्य तारानाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन र माध्यमिक विद्यालय शिक्षक एशोसेसन एकीकृत भई माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) गठन गरिएको हो । सुवेदी यसअघि नेपाल सामुदायीक उच्च माध्यमिक विद्यालय शिक्षक युनियन लमजुङको अध्यक्षमा रहनु भएको थियो ।
हिस्टुन लमजुङले विहिबार नै आफ्ना २० बुद्धे मागपत्र सहित शिक्षा विकास तथा समन्वय ईकाई लमजुङका ध्यानाकर्षणपत्र बुझाएको छ । हिस्टुन लमजुङका अध्यक्ष अमृत सुवेदीको नेतृत्वमा गएको शिक्षकहरुको टोलीले शिक्षा विकास तथा समन्वय ईकाई लमजुङका प्रमुख नारायण रेग्मी समक्ष पेशागत हकहितका लागि ज्ञापनपत्र बुझाएको हो ।
ध्यानकर्षणपत्रमा साविकको सामुदायिक उमावि तहका लागि प्राप्त ४ हजार शिक्षण अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने, साविकको सामुदायिक उमावि तहको दरबन्दी र अनुदानमा कार्यरत बाहेकका सोहि तहमा कार्यरत शिक्षकहरुको व्यवस्थापना लागि तत्काल थप आवश्यक दरबन्दी स्विकृत गर्नुपर्ने र विशेष आन्तरिक प्रकृयाद्वारा द्धितिय श्रेणीमा स्थायी गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी ध्यानकर्षणपत्रमा विद्यालयले प्रदान गरेको नियुक्तिको आधारमा अस्थायी सेवा अवधी गणना गरी सम्बन्धित निकायले अभियलेख राख्नुपर्ने, अस्थायी लाइसेन्स स्वतः स्थायीमा परिणत गर्नुपर्ने, अनुदानमा कार्यरत शिक्षकहरुालई स्थानिय भत्ताको व्यवस्था गर्नुपर्ने लगायत पेशागत सुरक्षा र बृत्ति विकासका लागि विगतमा भएको सम्झौंता अविलम्ब कार्यान्वयनमा हुनुपर्नेमा जोड दिइएको छ ।
हिस्टुनले केन्द्रीय कार्यक्रम अनुसार विगतदेखी आन्दोलनमा रहेको छ भने आगामी माघ ४ गते प्रदेशस्तरीय भेलागरी प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्री समक्ष ज्ञापनपत्र बुझाउने तथा अन्तरक्रिया गर्ने, १२ र १३ गते राष्ट्रिय भेला तथा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको हिस्टुन लमजुङका अध्यक्ष अमृत सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत