बेसीशहरमा वडास्तरीय मेयर कप प्रतियोगिता हुने

शान्ता कमली,लमजुङ मंसिर २ गते ।
लमजुङको बेसीशहर नगरपालिकामा वडास्तरीय मेयर कप प्रतियोगिता हुने भएको छ । बेंसीशहर नगरपालिका खेलकुद विकास समितिको आयोजनामा बेंसीसहर नगरपालिका ७ सहजी खेलमैदानमा मंसीर २१ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । बेंसीशहरमा शनिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराईएको हो । नगरपालिकाभित्र रहेका दक्ष उत्कृष्ट खेलाडीहरुको पहिचान गर्न, खेलप्रती आकर्षित गर्न साथै खेलकुद क्षेत्रको विकासको लागि वडास्तरीय मेयर कप प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक बेंसीशहर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द खड्काले बताए । मेयर कप सञ्चालनका लागि समितिका अध्यक्ष खड्काको अध्यक्षतामा २१ सदस्यीय मूल समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । बेंसीशहर नगरपालिकामा ११ वटा वडा रहेको छ । यस ११ वटै वडाबाट १÷१ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाण पत्र र द्वितिय हुने टिमलाई ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५÷५ हजार प्रदान गरिने भएको छ । अनुसासित टिमलाई ट्रफी र प्रमाणपत्र दिइनेछ । प्रतियोगिता सञ्चालन अवधिभर ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यसमा तपाइको मत