अलविदा भेडीखर्के साइँला, राष्ट्रिय झण्डा ओडाएर अन्तेष्टी

लमजुङ। बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य ब्यक्ति भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको दुख्द निधन भएको छ ।

ठाडोभाका सम्राट/शिरोमणी ८४ बर्षीय गायक भेडीखर्के साइँला एक महिनायता विरामी पर्नुभएको थियो । उहाँको सोमाबार दिउँसो सभा ५ बजेतिर निधन भएको सुन्दरबजारस्थित सयपत्री माविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले लमजुङ डेलीलाई जानकारी दिनुभयो ।
स्वर्गिय भेडीखर्के मध्य साउनदेखि विरामी पर्नुभएको हो । घरायसी आर्थिक समस्याले राम्रो उपचार पाउन सक्नुभएको थिएन् ।
उहाँको पार्थिव शरिरलाई भोली मात्रै अन्त्येष्टी गर्ने बताइएको छ ।

भेडीखर्केका १ छोरा र ३ छोरी छन् । घरमा छोरा भएपनि उहाँले वास्ता नगर्ने गरेको स्थानीयको भनाई छ । भेडीखर्केका ज्वाइँ शम्सेर लौडारीका अनुसार एक सातादेखि उहाँले खाना खानुभएको थिएन् । पानी पनि दिनमा मुस्किलले एक कप खाने गरेको उहाँले बताउनुभयो । जति औषधी गरेपनि निको नहुने लौडारीको भनाई छ ।
लमजुङको तत्कालिन सिन्दुरे गाविस वडा नम्बर ७, तुर्लङकोटमा वि.सं. १९९० भदौ ३१ गते बाबु बलभद्र अधिकारी र आमा नन्दकुमारीको कोखबाट जन्मनुभएका अधिकारीले १२ बर्षको उमेरदेखि अहिलेको ८४ बर्षको उमेरसम्म ठाडो भाका गाउँदै आउनुभएको थियो । उहाँका दर्जन बढी गीतहरु रेकर्ड भएका छन् ।

पहिले देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले यस भाका प्रचलनमा ल्याएपनि देश विदेश फैलाउने काम भेडीखर्के साइँलाले गर्नुभएको थियो । २० बर्षअघिसम्म भक्तिमाया दुरासंग विभिन्न कार्यक्रममा ठाडो भाकामा रातदिन छर्लंगै हुने गरि गाउने उहाँले सवै सहयात्रीलाई गुमाएपछि पछिल्लो समय बन्दीपुरकी उत्तम गुरुङसंग ठाडोभाका गीत गाउँदै आउनुभएको थियो ।

 गायक भेडिखर्केलाई राष्ट्रिय झण्डा ओडाएर अन्तेष्टी गरियो, स्थानिय सरकारद्घारा सम्मान

 सोमबार साँझ निधन हुनुभएका ठाडोभाका गायक भेडिखर्के साइँला (दीर्घराज अधिकारी) को मंगलबार दाहसंस्कार गरिएको छ ।

सुन्दरबजारको पाउँदीस्थित मस्र्याङ्दी आर्यघाटका अधिकारीको दाहसंस्कार गरिएको हो । अन्तिम संस्कारअघि सुन्दरबजार, सिउँडीबारहुँदै पाउँदीसम्म शवयात्रा गरिएको थियो । सुन्दरबजारको मिलनचोक र पाउँदी आर्यघाटमा शुभचिन्तकहरुले फुलमाला अर्पणगरि श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

दागबत्ती दिनुअघि अधिकारीको शवमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरिएको थियो । सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्नुभएको हो । केन्द्रीय सरकार तथा गृहमन्त्रालयबाट सम्मानको कुनै कार्यक्रम नराखिएपनि स्थानीय सरकारको तर्फबाट सम्मान गरिएको मिश्रले बताउनुभयो । उहाँले भेडिखर्के साईँला ठाडोभाकाको मुर्धन्य व्यक्तित्व भएको बताउनुभयो ।

सोही अबसरमा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति बृषराज गुरुङ, पार्टीका पूर्व सचिव आनन्द घिमिरेले नेपाली काँग्रेसको झण्डा ओडाएर सम्मान गर्नुभएको थियो । यस्तै ठाडोभाका लोक कला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले संस्थाको ब्यानर ओडाएर सम्मान गर्नुभएको थियो ।

अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरु पाउँदी पुगेका थिए । लोकगायिका विमाकुमारी दुरा, सहयात्री एवं ठाडोभाकाका अभियन्ता देवीजंग गुरुङ, ठाडोभाका गायक उत्तम गुरुङ, सोनी गुरुङ, बुद्धीमान दुरा (धम्पु), सीता दुरालगायतका कलाकारहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । अधिकारीको अन्तिम संस्कारमा सयौं मानवसागर मलामी गएका थिए । दैनिकपाटीमा खबर छ ।

नागरिकस्तरबाट ठाडोभाका सम्राट÷शिरोमणी उपाधी पाउनुभएका अधिकारीको सोमबार ८४ बर्षको उमेरमा निधन भएको थियो । अधिकारी केहीदिन यता सिकिस्त बिरामी पर्नुभएको थियो । लमजुङमा उपचार हुन नसकेपछि एक साताअघि उहाँलाई काठमाडौंस्थित बीर अस्पताल लगेर उपचार गराई पुनः लमजुङ फर्काइएको थियो । उहाँको सुन्दरबजारस्थित जेठीछोरी र ज्वाइँको घरमा निधन भएको हो ।

घरमा हेरचाह नहुँदा सुन्दरबजार नगरपालिका–२, परेवाडाँडा घर भएका उहाँ तीन बर्षयता सुन्दरबजार नगरपालका ६, अर्चलेटोलमा रहेको जेठी छोरीको घरमा बस्दै आउनुभएको थियो । उहाँको हेरचाह गर्ने भन्दै श्रीमती पनि उहाँसंगै छोरीज्वाइँको घरमा बस्दै आउनुभएको थियो । भेडीखर्केका १ छोरा र ३ छोरी छन् ।

लमजुङको तत्कालिन सिन्दुरे गाविस वडा नम्बर ७, तुर्लङकोटमा वि.सं. १९९० भदौ ३१ गते बाबु बलभद्र अधिकारी र आमा नन्दकुमारीको कोखबाट जन्मनुभएका अधिकारीले १२ बर्षको उमेरदेखि ठाडो भाका गाउँदै आउनुभएको थियो । उहाँका दर्जन बढी गीतहरु रेकर्ड भएका छन् । पहिले देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले यस भाका प्रचलनमा ल्याएपनि देशविदेश फैलाउने काम भेडीखर्के साइँलाले गर्नुभएको हो ।

साभार लमजुगं डेलीबाट

यसमा तपाइको मत